पर्यटनकर्मी देवेन्द्र नेपालको ‘मेरो चित्लाङ’ गीत सार्वजनिक (भिडियो सहित)

संवाददाता
६ मंसिर २०७७, शनिबार १७:५३

खबरबाकस \ मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मकवानपुरको पर्यटन क्षेत्रको रुपमा रहेको चित्लाङलाई धेरैलाई थाहा छ । मकवानपुरको चित्लाङ भन्ने वित्तिकै पर्यटन जोडिएर आउँछ । सोही स्थानमा पर्यटन व्यवसायी देवेन्द्र नेपालले चित्लाङको पर्यटकीय सम्भावनालाई पहिलोपटक उजागर गर्दै आउनुभएको छ । लामो समयदेखि पर्यटन क्षेत्रमै लाग्नुभएका नेपाल डेढ दशकअघि चित्लाङ फर्किए । चित्लाङमा पर्यटनको सम्भाव्यता अध्ययनपछि १८० रोपनी जमिन भाडामा लिएर १० वर्षअघि अर्गानिक भिलेज रिसोर्ट सुरु गरे ।

३९ वर्षीय नेपाल स्थानीय पर्यटन विकासमार्फत चित्लाङलाई एउटा समृद्ध, साक्षर, आत्मनिर्भर र नमुना गाउँ बनाउने सपना बुन्दै लगनशीलताका साथ काम गरे र सफलता पनि हात पार्दै गए । उक्त सफलता भनेको चित्लाङ भन्ने वित्तिकै देवेन्द्र नेपाल र अर्गानिक चित्लाङ रिर्सोट चिनिनु ।

शुक्रबार कर्म पिक्चर्सले युटुवमार्फत् सार्वजनिक गरेको देबेन्द्रको ‘मेरो चित्लाङ’ म्युजिक भिडियोले उहाँको सपनालाई साकार पार्ने पर्यत्न गरेको छ । चित्लाङको पर्यटनको पर्याय बन्नुभएका देवेन्द्र गीत, संगीतमा पनि रुची राख्छन्, । यसअघि देवेन्द्रको भूमिका रहेको आधा दर्जन म्युजिक भिडियोहरु चित्लाङमै छायांकन भएका थिए ।

चर्चित म्युजिक भिडियोहरु ‘झ्यानापुल्टुङ’, ‘टुच्च स्यान्टाराम’ र ‘कि साथमा तिमी’ को शब्द, संगीत र श्वर देबेन्द्रकै रहेको थियो । त्यसैगरी ‘मेरी प्यारी’ र ‘म त मेरै देश गाउँछु’ को म्युजिक भिडियोमा उहाँको कथा र अभिनय रहेको थियो । शुक्रबार सार्वजनिक म्युजिक भिडियोमा भने शब्द, स्वर, कथा, निर्देशन, निर्माण र मोडेलिङसमेत आफ्नै रहेको छ ।

म्युजिक भिडियोमा स्थानीय श्रोत र साधन प्रयोग गरी लघु उद्यममा लाग्न र आफू भित्रको आर्थिक सम्भावनाको खोजी गर्न आह्वान गरिएको छ । आफूभित्रको आर्थिक सम्भावनाको उजागर गर्दै विदेशिनु पर्ने नियतिको अन्त्य गर्न पनि म्युजिक भिडियोले युवाहरुलाई आग्रह समेत गरेको छ ।

चित्लाङ चिनाउने चैत्य, भेडीगोठ, साँस्कृतिक नाच, गोट चिज, पाटी, पौवा, धर्मशाला, ढुंगेधारा, साँस्कृतिक नाचलगायतलाई कैद गरिएको भिडियोमा शिक्षाको यात्रामा लम्किरहेका ससाना बालबालिकालाई पनि देखाइएको छ ।

म्युजिक भिडियोमा सबै दृश्यहरु चित्लाङमै छायांकन गरिएको छ भने कलाकारहरु पनि चित्लाङकै रहेका छन् । भिडियोमा देवेन्द्रको साथमा मुना बस्नेत, प्रकृति नेपाल, प्रणय नेपाल, परिछित नेपाल, काजी श्रेष्ठ, मोहन रेग्मी, प्रदिप भट्ट, रेश्मा बलामी, सजिना मगर लगायतको अभिनय रहेको छ । देवेन्द्र नेपाल र माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा विपिन आचार्यको संगीत रहेको छ भने दिपेश उपाध्यायको छायांकन र पदम तिमल्सिनाको सम्पादन रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*