स्कटल्यान्डको एडिनबरामा नेपाली मेलाको तयारी पुरा, दूतावासको सेबा मेला स्थलबाटै लिन सकिने

बेलायतको स्कटल्यान्डमा भोलि पहिलो नेपाली मेलाको तयारी पुरा भएको आयोजकले जनाएका छन। नेपाली मेला स्कटल्यांडको एडीनबरामा हुदैछ। साथै कार्यक्रम स्थलमा मै लण्डन स्थित नेपाली दुताबासले राहदानी र कन्सुलर सेवा समेत प्रदान गर्ने भएको छ।स्थानिय समुदायहरुलाई समेत नेपालको संस्कृतिको बारेमा आदानप्रदान गर्ने हिसाबले यो कार्यक्रम गरिएको हो ।
स्कटल्यांडमा पहिलो पटक आयोजना ग़रिने यो कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम एनआरएनए यूके केन्द्रिय सदस्य शसि कार्कीले जानकारी दिए।
भोली बिहान १० देखि सांझ ६ बजेसम्म हुने मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड पनि गरिने नेपाली दूतावासले जनाएको छ ।
कार्यक्रममा नेपाली गायिकाहरु सुनिता दुलाल र भूमिका साहले आकर्षक सांगीतिक प्रस्तुति दिन स्कटल्यान्ड आईसकेका छन भने गायक धिरज राई भोली बिहान आईपुग्ने छन् र साथमा स्थानीय कलाकारहरूको बिभिन्न प्रस्तुतिहरु रहनेछन। कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना, एनआरएनए स्कटल्यान्ड तथा यहाँका विभिन्न नेपाली संघसंस्थाहरूको संयुक्त सहभागितामा हुने छ भने स्कटल्यांडमा बसोबास गर्ने नेपाली समुदायको बाकलो उपस्थितिमा सम्पन्न हुने बिस्वाश लिईएको छ ।
मेला नेपाली समुदायका लागि आफ्नो पहिचान, भाषा, भेषभूषा, परम्परा र संस्कृतिको गौरवपूर्ण प्रदर्शन गर्ने महत्वपूर्ण अवसर हुने आयोजकले जनाएका छन्।
कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, लोकगीत, परम्परागत खाना, हस्तकला प्रदर्शनी, पर्यटन सम्बन्धी सूचना केन्द्र, बालबालिकाका रमाइला गतिविधि लगायत विविध प्रस्तुति समावेश गरिनेछ। मेलाले स्कटल्यान्ड तथा युकेमा बसोबास गरिरहेका नेपालीबीच सामाजिक सद्भाव, आपसी एकता र सञ्जाल विस्तार गर्न समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डले स्कटल्यान्डबासी तथा युकेबासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई भब्यरुपमा सफल पारिदिनु हुन अनुरोध गरेका छन्। कार्यक्रमका लागी दुताबासको टोली पनि स्कटल्यांड आईसकेको छ।