सेवा सुविधाको रकम वडाध्यक्ष बानियाँद्धारा विद्यालयलाई प्रदान
सिधाखबर \ नेपाल सरकारबाट प्राप्त पारिश्रमिक विद्यालयलाई प्रदान गरिएको छ । हेटौंडा उपमहानगर वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले आफ्नो पारिश्रमिक विद्यालयलाई प्रदान गरेका छन् ।
बुधबार आफ्नो वडाभित्रमा रहेको दुइ सामुदायिक विद्यालय लक्ष्मी आधारभूत विद्यालय र बालज्योति माध्यमिक विद्यालयलाई हरेक महिना प्राप्त हुने रकम प्रदान गरिने गरी फागुन महिनाको रकम प्रदान गरेका हुन् । चुनावी बेलामा सरकारबाट प्राप्त सेवा सामाजिक सेवामा खर्च गरिने भनी प्रतिवद्धता अनुरुप माघ महिना सम्मको रकम विभिन्न सामाजिक सेवामा खर्च गरिएको र फागुन महिनाबाट भने आफ्ना वडाका दुई सामुदायिक विद्यालयलाई प्रदान गरिने वडाध्यक्ष बानियाँले बताए ।
उपमहानगरबाट प्राप्त प्रतिमहिना २८ हजार ७१० रकम बालज्योतिलाई २० हजार र लक्ष्मी आधारभुतलाई ८७१० प्रदान गरिने बानियाँले बताए । वडा कार्यालयमा दुबै विद्यालयका प्रधानाध्यापकलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । चेक प्राप्त पश्चात बालज्योति माविका प्रअ भरत प्रसाद अर्यालले प्राप्त रकम विद्यालयमा रहेका दृष्ट्रिविहिन विद्यार्थीको लागि आवश्यक शैक्षिक सामाग्री, संगीतका सामाग्री र शिक्षकमा खर्च गरिने बताए । ७ देखि २१ वर्ष उमेर समूहका १७ जना दृष्ट्रिविहिन विद्यार्थीलाई अध्यापन गर्दै आइरहेको प्रअ अर्यालले बताए ।
त्यस्तै, प्राप्त रकम नर्सरी र केजीका विद्यार्थीको शैक्षिक गुणस्तरका लागि खर्च गरिने लक्ष्मी आधारभूत विद्यालयका प्रअ रामहरि मैनालीले बताए । वडाध्यक्षले विद्यालयप्रति उदारवाद भई सहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए ।
वडाध्यक्ष बानियाँले यसअघि वडाभित्रका ६२ घरपरिवारको एक लाख ५६ हजार बराबर स्वास्थ्य बिमा गरिदिएका छन् ।
उनले आफ्नो स्वर्गीय बुबा विरेन्द्र बहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि प्रदान गर्ने तयारीमा छन् । संघसंस्थालाई मात्र होइन व्यक्तिलाई समेत विभिन्न सहयोग गर्दै आएका छन् वडाध्यक्ष बानियाँ । वडाध्यक्ष बानियाँले व्यक्तिगत खर्चमा बालज्योति विद्यालयलाई भवन निर्माणको लागि १५ लाख सहयोग पनि गरेका छन् ।