ए.पि.एफलाई हराउँदै बागमती युवा क्लब विजयी

सिधाखबर \ हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगिताको चौथो दिनको खेलमा बागमती युवा क्लब सर्लाही विजयी भएको छ ।
आइतबार हेटौंडा–१० वन विज्ञान खेल मैदानमा भएको खेलमा बागमती युवा क्लबले २–१ गोल अन्तरले विभागीय टोली नेपाल ए.पि.एफ क्लबलाई पराजित गरेको हो । बागमती युवा क्लबको तर्फबाट खेलाडी विक्रम धिमाल र सागर शाहीले समान एक–एक गोल गरेका थिए । यस्तै ए.पि.एफ क्लबका खेलाडी रवि थिङले पेनाल्टीको सदुपयोग गरी एक गोल गरेका थिए ।
बागमती युवा क्लबका बिक्रम धिमाल प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन, भने उप–विजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ । भोली सोमबार संकटा क्लब र मच्छिन्द्र क्लबबीच खेल हुनेछ ।