१६ गतेबाट हेटौंडामा गोल्डकप सुरु, खेल तालिका सार्वजानिक

एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
माघ १६ गते शहिद दिवसको दिनबाट सुरु हुने खेल २३ गते फाइनल खेल हुने छ । प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिताको उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुने आयोजकले जनाएको छ ।
वन विज्ञान अध्ययान संस्थानको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक एफसी विजय यूथका अध्यक्ष सुदिप राजबाहकले बताए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ ।