इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं \ साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ ।
क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ मानेले निर्णायक गोल गरेपछि सेनेगल ४-२ ले विजयी भयो ।