विश्वकप छनोटमा नेपालको पहिलो जित

काठमाडौं \ आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ । दुबईको आइसिसी क्रिकेट एकेडेमीमा मंगलबार भुटानलाई आठ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा इन्दु बर्माले अविजित १८, सीता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० र कविता जोशीले आठ रन जोड्नुभयो । भुटानकी टासी छेकीले एक विकेट लिनुभएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले नौ रन जोड्नुभयो । नेपालका लागि सीता राना मगरले सर्वाधिक तीन विकेट हात पार्नुभयो । सीताले चार ओभर बलिङ गर्दै १० रन खर्चनुभयो । यस्तै करुणा भण्डारीले एक विकेट लिनुभयो ।
यस जितसँगै नेपालले दुई खेलमा दुई अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानको यो पहिलो हार हो । भुटानले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा आइसिसी टी-२० विश्वकप हुँदैछ । जसका लागि हाल नेपालसहित भुटान, कुवेत, म्यानमार, मलेसिया र संयुक्त अरब इमिरेन्ट्स गरी ६ देशले जारी छनोट खेल्दैछन् ।
सबैले एकअर्कासँग खेलेपछि शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।
छनोटअन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौँ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।