प्रदेश खेलकुद मंसिरदेखिः हजारौं खेलाडीले सहभागिता जनाउदैं

संवाददाता
२३ आश्विन २०७८, शनिबार १०:०६

हेटौंडा \  बागमती प्रदेशले आगामी मंसिर महिनादेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १५ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा बसेको बागमती प्रदेश खेलकुद विकास परिषद्को बैठकले मंसिरबाट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रतियोगितामा ८ खेल समावेश हुने भएको छ । सम्बन्धित खेल संघहरुकै समन्वयमा हुने प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाबाट लगभग १ हजार ५ सय ६२ जना खेलाडीहरुले सहभागिता जनाउने जनाइएको छ ।

परिषद्ले प्रदेशका १३ वटै जिल्लामा खेलाडीहरुको पछिल्लो तथ्याङ्कअनुसार विभिन्न खेलमा खेलाडीहरुको सहभागिता, खेलअनुसार प्रतियोगिताको लागत खर्च निर्धारण गरेको छ । प्रतियोगितामा फुटबल, भलिबल, बक्सिङ, एथलेटिक्स, तेक्वान्दो, कराँते तथा ब्याडमिन्टनमा महिला र पुरुष दुबै खेलाडीहरुको सहभागिता रहने तथा क्रिकेटमा भने पुरुष टिमको मात्र सहभागिता रहने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । बागमती प्रदेशका सबैजसो जिल्लामा टिम पुग्नेगरी क्रिकेटको महिला खेलाडी नभएकाले महिला क्रिकेट आयोजना नगरिने उहाँको भनाई छ ।

प्रतियोगिताको टी–ट्वान्टी क्रिकेटमा बागमती प्रदेशका ८ वटा जिल्लाबाट पुरुष टिमको सहभागिता रहने जनाइएको छ । जसमा प्रत्येक टिममा १४ जना खेलाडीका दरले कुल १ सय १२ जना खेलाडी सहभागी हुने उल्लेख छ । यस्तै फुटबलमा पुरुषतर्फ १२ जिल्लाको टिम तथा महिलातर्फ ८ जिल्लाको टिमको सहभागिता रहनेछ भने कुल ३ सय २० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने सदस्यसचिव भण्डारीले बताउनुभयो । पुरुष भलिबलमा १३ जिल्लाकै टिम तथा महिला भलिबलमा १२ जिल्लाको टिमको सहभागिता रहनेछ, जसमा कुल २ सय ५० जना खेलाडीले खेल्नेछन् ।

यसैगरी एथलेटिक्स, तेक्वान्दो, कराँते तथा ब्याडमिन्टनको महिला तथा पुरुषमा १३ वटै जिल्लाले सहभागिता जनाउने जनाइएको छ । प्रतियोगितामा सहभागिता गराउनका लागि १३ वटै जिल्लामा अनुदानस्वरुप कुल १ करोड ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*