राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

संवाददाता
१२ भाद्र २०७८, शनिबार ०९:०८

काठमाडौं \ नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो ।

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । नेपाली टोलीले हाल कास्कीको पोखरामा अभ्यास गर्दै आएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ ।

कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भदौ १७ र भदौ २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्नेछ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि असोज ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलंकासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्ने छन् ।

हाल पोखरामा बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा हुनुहुन्छ ।

यसैबीच नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडलाई बिक्री गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । एडप्याडलाई २५ लाख १० हजार रुपैयाँमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ । एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दुवै मैत्रीपूर्ण खेल दर्शकविनै गर्ने योजना रहेको एन्फाले जनाएको छ । आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*