बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

हेटौंडा \ फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गरेको गोल भीएआरबाट बुनिची अफसाइड देखिएको थियो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २–१ ले जित्यो ।
यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।