नेपाल पत्रकार महासंघ बेलायतको संसोधित नियमावली सहित निर्बाचन तालिका प्रकाशित

संवाददाता
४ जेष्ठ २०७८, मंगलवार १६:५६

आगामी जुन १३ गते हुने नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिबेसन तथा नयाँ कार्य समिति चयनको लागि गठित निर्वाचन समितिले नेपाल पत्रकार महासंघको विधान २०६०(पाँचौँ संशोधन २०७५), वैदेशिक शाखासम्बन्धी नियमावली २०७१, नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२१ संसोधन सहित जारी गरेको छ। जस अनुसार निर्वाचनको व्यवस्थापन गर्न, नियमावली तयार गर्न, परिमार्जन गर्न, कार्यतालिका बनाउन र फेरबदल गर्न परे त्यस्तो फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहने उल्लेख गरिएको छ। नियमावलीका अनुसार, नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यता लिएका र सदस्यता वैध रहेका साधारण सदस्यहरु निर्वाचनमा मतदाता र उम्मेदवार बन्न सक्नेछन् । अध्यक्ष पदमा उम्मेदवारी दिन भने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान तथा वैदेशिक शाखा नियमावली बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ।उम्मेदवार हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम रहेका सदस्यहरु मध्येबाट तोकिएको उम्मेदवारी शुल्क तिरेर निर्वाचन समितिले तोकेको इमेल fnjukelection2021@gmail.com मा दिइएको समयावधिभित्र स्वयमले दर्खास्त दर्ता गराउनु पर्ने छ ।

कोभिड-१९ को महामारी, बेलायतका विभिन्न राज्यहरुको यससम्बन्धी फरकफरक नियम र सबै सदस्यहरुलाई मतदानको अवसर दिलाउने हेतुले मतदानमा स्वयं उपस्थित हुन नसक्ने सदस्यहरुका लागि यस पटक भने पोस्टल मतदानको सुविधा समेत दिइने गरि नियमावली संसोधन गरिएको निर्बाचन आयोगले जनाएको छ ।पोस्टल मतपत्रमार्फत मतदान गर्न चाहने सदस्यले इमेलमार्फत २ जुन २०२१ बिहान १० बजेभित्रमा पोस्टल मतपत्रका लागि निवेदन र आफ्नो पूरा ठेगाना fnjukelection2021@gmail.com मा पठाउनु पर्नेछ। भौतिक मतदान सकिएपछि मात्र पोस्टलबाट आएका बन्दखाम उम्मेदवारहरु वा उनीहरुका प्रतिनिधिको रोहबरमा खोलिनेछ । पोस्टल मतपत्रमा एक वा एकभन्दा बढी मतपत्र समावेश गरिएको छ कि छैन प्रमाणित गरी त्यस्ता मतपत्रलाई अरु मतपत्रसँगै मिसाइने छ ताकि त्यो मतपत्र कसको हो र कसलाई मतदान गरिएको थियो भन्ने नचिनियोस् ।

नेपाल पत्रकार महासंघ युके शाखाको यही १३ जुन २०२१ का दिन हुन गइरहेको पाँचौँ अधिवेसनबाट नयाँ नेतृत्व चयनका लागि निम्नानुसारको कार्यक्रम तय भएको भन्दै आफ्नो वेबसाइट मार्फत सबैको जानकारीका लागि निर्बाचन तालिका समेत प्रकाशित गरेको छ ।

यस अघि, शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले पाँचौ अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेसनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ । रमेश साराङकोटीको संयोजकत्वमा गठित निर्वाचन समितिमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य रहेका छन् भने सोलिसिटर दीपक भट्टराई निर्वाचन समितिको कानुनी सल्लाहकार चयन भएका छन् ।

बैठकले शाखाको सदस्यता सुद्धिकरण समितिको सुझाब अनुसार नयाँ सदस्यमा साबिकको संख्यामा आधा भन्दा बढीले कटौती गरि जम्मा ४३ जनाको नाम सर्वसम्मतले टु‌ङ्गो लगाएको छ भने शाखाले गठन गरेको सदस्यता शुद्धिकरण समितिका संयोजक सल्लाहकार भगिरथ योगीले समितिको प्रतिवेदनका लागि बैठकले समितिलाई कार्य सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो ।अधिवेसन आयोजनाका लागि उपाध्यक्ष विमला सेनेलाई व्यवस्थापन समितिको संयोजक तोकिएको छ भने सांगठानिक प्रतिवेदन तयारीका लागि महासचिव सन्जयभक्त कँडेल र आर्थिक प्रतिवेदन तयारीमा अध्यक्ष खपाङ्गीमगरलाई जिम्मा दिइएको छ ।त्यस्तै, कार्यसमितिको संख्यालाई परिमार्जन गर्दै बैठकले १५ मा घटाएको छ । जसमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-२ (एक समावेशी), महासचिव-१, सचिव-२, कोषाध्यक्ष-१, सहकोषाध्यक्ष-१ र सदस्यहरु ६ जना रहनेछन् ।

बैठकले शाखाले स्थापना गरेको ‘नेपाल पत्रकार महासंघ वर्ष पत्रकारिता पुरस्कार’ को नियमावली पारित गरेको छ । नियमावली निर्माण समितिका संयोजक डा. जगन कार्कीले तयार पार्नुभएको सो नियमावली छलफलपश्चात पारित गरिएको थियो भने सन् २०२०का लागि सो पत्रकारिता पुरस्कार दिनका लागि छनौट समिति गठन गरिएको छ । डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिमा डा. प्रियंवदा पौड्याल, शाखाका अध्यक्ष खपाङ्गी मगर र सचिव डा. जगन कार्की सदस्य रहेका छन् । शाखाले हरेक अधिवेशनमा अग्रज पत्रकारहरुलाई सम्मान गर्ने गरेकोमा यसपटक अग्रज पत्रकारहरु सुमन खरेल, चिरन्जीवी पौड्याल, सुरेशजंग शाह, विजय थापा र भगीरथ योगीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*