स्थानीय तह शहिद स्मृृति गोल्डकपः मकवानपुर ११ को विजयी सुरुवाती

हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले गरेका थिए ।
मकवानपुरका १० स्थानीय तहहरुको प्रायोजनमा भएको खेलको प्रतियोगितामा हेटौंडा रिगल रिसोर्ट मकवानपुर ११, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब, सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनले गोल्डकपमा सहभागिता जनाएकाछन् ।
नकआउट चरणमा हुने खेलको उद्घाटन खेल मकवानपुर ११ र नवजागृति युवा क्बल सिमराबीच भएको थियो । खेलमा मकवानपुर ११ले नवजागृति युवा क्बल सिमरालाई ४–१ गोल अन्तरले पराजित गर्दै अघि बढेको छ । खेलको २० औं मिनेटमा मकवानपुरको तर्फबाट अमित श्रेष्ठले हानेको प्रहार गोलपोष्टबाट नजिकबाट बाहिरेता पनि २८ औं मिनेटमा विमल रानाले पहिलो गोल गर्दै आफ्नो समूहलाई अग्रता दिर्लाका थिए । खेलकै ३२ मिनेटमा करिब ३० यार्ड बाहिरबाट प्रहार गरेको बल जाली चुमाउदैं मोहित गुरुङले मकवानपुर ११ लाई गोल फर्काएका थिए ।
पहिलो हाफ गोलबराबरीमा रहेता पनि खेलको दोस्रो हाफको ५७ औं मिनेटमा मकवानपुरको तर्फबाट रन्जन विष्ठले एक गोल, ६६ औं मिनेटमा बिमल रानाले एक गोल र ७५ औं मिनेटमा अमित श्रेष्ठले थप एक गोल गर्दै मकवानपुर ११ विजयी भएको छ । खेल सँगै नवजागृति युवा क्बल सिमरा बाहिरेको छ । प्रतियोगिताको म्यान अफ द म्याच दुई गोलकर्ता मकवानपुर ११ का बिमल राना घोषित भएका छन् । शुक्रबार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार सहित हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट रायल इनफिल (बुलेटबाइक) प्राप्त गर्नुहुनेछ भने विधागत उत्कृष्ट खेलाडीले २५ हजार, म्यान अफ दि म्याचले दश हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत, बकैया गाउँपािलकाका अध्यक्ष दामोदर खनाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, शिक्षाविद् पुरन बहादुर जोशी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, प्रतियोगिताका कार्यक्रम संयोजक प्रताप विष्ट लगायतले खेलकुदको अवस्था, शहिदहरुको सम्झनामा गरिएको प्रतियोगिताबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख बषन्त लामा, एसएसपी मिरा चौधरी, खेलकुद विकास समिति प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारी लगायत खेल संग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा हेटौंडामा खेलकुद विषेशत् फुटबललाई साथ सहयोग गर्दै आउनुभएका सुशील घिमिरेलाई सम्मान गरिएको थियो ।