बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने

काठमाण्डाै \ बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदार्गा वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
१३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ ।
पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगायत हिमाल आरोहण खुला गरेको भए पनि अहिलेसम्म कसैको पनि आवेदन परेको छैन । आउँदाे वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।
अनुमति नलिए पनि कतिपय प्रक्रियामा रहेको र बहराइनका राजपरिवारका सदस्य आउने कुरा जानकारीमा आएको उहाँले बताउनुभयो । राजपरिवारका सदस्य आरोहणमा आउँदा यसले नेपालमा सुरक्षित पर्वतारोहण रहेको सन्देश जाने भएकाले महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
गएको वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण स्थगन गरेको थियो । यस वर्ष आरोहण खुला गरेसँगै आठ जना आइसफल डाक्टरहरू बाटो बनाउनका लागि सगरमाथाको आधार शिविरतर्फ गइसकेका पनि निर्देशक आचार्यले बताउनुभयो । विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविरसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको छ ।