बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

संवाददाता
१६ फाल्गुन २०७७, आईतवार ०९:२६

लन्डन \ बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बर २६ पछिकै कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ७० हजार ५१९ पुगेको छ ।

कडा प्रतिबन्धका कारण नयाँ संक्रमित दरमा दैनिक ६ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतको संक्रमण मापन (आर) दर ०.६ देखि ०.९ को बीचमा छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १४ हजार ८०८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ९७१ छ ।

एक करोड ९६ लाख बढीले लगाए खोप

बेलायतमा हालसम्म दुई करोड भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४ लाख ५० हजार ८५८ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा एक करोड ९६ लाख ८२  हजार ४८ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ६८  हजार ८१० जनाले खोपको दोस्रो डोज लिएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले खोपलाई थप प्रभावकारी बनाउन चाँडै ४० वर्ष उमेर पुगेकालाई खोप वितरण गरिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*