बेलायतमा कोरोना संक्रमणबाट नेपाली डा. लक्सम्बाको निधन

संवाददाता
१४ माघ २०७७, बुधबार ०७:४०

लन्डन \  कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयदेखि  बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमण भई यही माघ ५ गते अस्पताल भर्ना भएका उनको मस्तिष्काघात भएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई भेट्न बोलाएको थियो । परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन ।

गोर्खा सैनिकबाट अवकास भएपछि दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए । पछिल्लो समय यहाँ बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत आएका थिए ।

राजनीतिकरूपमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित भएका थिए ।  त्यसपश्चात् ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास लिएका थिए । उनलाई नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा पनि नियुक्त गरेको थियो । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*