बेलायतमा कोरोना संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड

बेलायत/ बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै जाने क्रममा गत २४ घण्टामा संक्रमित र मृत्यु हुनेहरूको संख्याले नयाँ रेकर्ड क़ायम गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा आज एकै दिनमा ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । आज शुक्रबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ६८ हजार ५३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यो संख्या दोस्रो लहर शुरु भए यताकै उच्च हो ।
यसैगरी, बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मृत्यु हो। योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजारको नजीक पुगेको छ । आजसम्मको तथ्यांकमा बेलायतमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७९ हजार ८३३ पुगेको छ।
कोरोना संक्रमणका कारण विश्वभर २९ लाख ५७ हजार ४७२ जनाको ज्यान गैसकेको छ।