बाइडेनको जीतको घोषणा अघि ट्रम्प समर्थकको हिंस्रक प्रदर्शनः गोली लाग्दा महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

संवाददाता
२३ पुष २०७७, बिहीबार ०८:२५

अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ । यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो ।

क्यापिटलभित्र उपस्थित संवाददाताका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए । डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो ।

सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपर्यो । डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो । स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

जो बाइडेनले भने, ‘यो विद्रोह हो’

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन आह्वान गरे ।

उनले भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढ्नुहोस् र टिभीमा गएर यो घेराबन्दीलाई समाप्त गर्न माग गर्नुहोस् । अति नै भयो ।’

सम्बोधनपछि जो बाइडेनले ट्वीट गर्दै डोनल्ड ट्रम्पलाई आफ्ना समर्थकलाई हट्न अपिल गरिदिन माग गरे । अर्को एउटा ट्वीटमा उनले भने, ‘क्यापिटल बिल्डिङमा केही मानिसहरुले जे गरे त्यो कानून नमान्ने अतिवादी मानिसहरु हुन् । उनीहरु राजद्रोह हुन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*