बेलायतको अक्सफोर्डले बनाएको कोरोना भाइरसविरुद्धको खोपले अनुमति पायो

बेलायत/ बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । यो भ्याक्सिन सुरक्षित र प्रभाभकारी भएको जनाऊ सहित मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ।
बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए ।
सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ ।अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ ।
एक डोजको मूल्य दुई देखि तीन पाउण्डसम्म पर्ने सक्ने समाचार माध्यमले जनाएका छन्। उक्त खोप पनि फाइजर- बायोएनटेक जस्तै प्रतिव्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ ।
हाल बेलायतलगायतका विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरूपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड/एस्ट्राजेनेकाको १० करोड डोज खोप अर्डर गरिसकेको छ, जसमध्ये ४ करोड डोज सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ ।
बेलायत सरकारले फाइजर-बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजार भन्दा बढीले फाइजर खोप लगाइसकेका छन् ।