नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चीनबाट उच्च तहका नेताको नेतृत्व काठमाडौंमा

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेकि चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आज काठमाडौं आइपुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा चीनको सक्रियता फेरी बढ़ेको छ। चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आईपुगेको हो।
वेइजिङस्थित उच्च कूटनीतिक स्रोत र नेपालस्थित नेकपा स्रोत अनुसार चिनियाँ टोली चार दिन नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गर्ने बताएका छन् ।
नेकपाका एक नेताका अनुसार नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् । होउले नेकपामा पटक पटक विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुकै निवासमा पुगेर मिलेर जान आग्रह गर्दै आएकी छन् ।