बेलायतमा नेपाली सैनिकलाई अन्तर्राष्ट्रिय अवार्ड

लन्डन \ बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका हुन् । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । विश्वका विभिन्न मुलुकका ३३ क्याडेट ४४ साताको प्रशिक्षणमा सामेल थिए । कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे ।
यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको थापाले बताए । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।
‘यो मेरो मात्र भन्दा पनि नेपाली सेना र नेपालका लागि नै गर्वको कुरा हनुपर्छ,’ अवार्ड पाएपछि थापाले भने, ‘यसले मलाई देश र जनताको रक्षार्थ नेपाली सेनामा थप जिम्मेवार भएर लाग्न प्रेरित गरेको छ ।’ थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए । रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट तालिमका लागि विश्वमै प्रख्यात मानिन्छ । एकेडेमीले सन् १९४७ यता १२० देशका ५ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई तालिम दिइसकेको छ ।
दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए । उनले यहाँ अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक व्यवस्थापनमा स्नातक पनि गरे । थापा आगामी जनवरीदेखि वेल्सको ब्रेकनमा हुने तीन महिने प्लाटुन कमान्डर ब्याटल कोर्समा सहभागी हुँदैछन् ।
थापाले बेलायती र नेपाली सेनामा धेरै भिन्नता रहेको बताए । ‘संख्यामा ब्रिटिस आर्मी सानो भए पनि कार्यकौशलता प्रभावकारी छ । चेन अफ कमाज्ड राम्रो लाग्यो,’ उनले भने, ‘त्यसो त सीमित श्रोत साधनबीच पनि नेपाली सेनाले विश्वमाझ आफ्नो छवि उच्च राखेको मेरो बुझाइ छ ।’
नेपाली सेनाले विकसित देशका सेनाभन्दा कम नभएको बारम्बार प्रमाणित गरिसकेको ब्रिगेडियर जनरल कुमारबाबु थापा बताउँछन् ।सोभरिन परेड विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीलगायत अन्य कर्मचारी पनि उपस्थित थिए । सो अवसरमा यूएईका राजकुमार शेख मोहम्मद बिन जाइदलगायत सेनाका उपल्लो दर्जाका अधिकृत र कुटनीतिज्ञहरु समेत सहभागी थिए ।