महिला अपहिल साइक्लिङ च्यालेन्जमा प्युठानकी भुमि बुढामगर प्रथम

हेटौंडा जेसीजले मकवानपुरमा राष्ट्रिय स्तरको महिला साइक्लिङ् प्रतियोगिता गरेको छ । १२ जना राष्ट्रिय महिला साइक्लिस्टहरुलाई सहभागी गराएर प्रतियोगिता सम्पन्न गरेको हो । नेपालमा मै पहिलो अपहिल महिला साइकिलिङ च्यालेन्जमा प्युठानकी भुमि बुढामगर प्रथम भएकी छिन् । उनले ७ किलोमिटर ८ सय मिटर ४८ मिनेट २० सेकेन्डमा पार गरेकी थिइन्, ।
५१ मिनेट २९ सकेन्डमा पाँचथरकी इन्द्रकला नेम्वाङले पार गर्दै दोस्रो स्थान हासिल गरिन् त्यस्तै ५४ मिनेट १० सेकेन्डमा सोलुखुम्बुकी मिङ्मा याङजीङ शेर्पाले तेस्रो स्थान हासिल गरिन् । विजेताहरुलाई मेडल, प्रमाण पत्र र क्रमश १८ हजार, १२ हजार र ६ हजार नगद सहित पुरस्कृत गरिएको थियो । लैङ्गिक हिंसाको १६ दिने अभियान अन्र्तगत महिलाको सहभागितामा साइक्लिङ च्यालेन्ज गरिएको हेटौंडा जेसीसका अध्यक्ष राजदेव बानियाँले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित सामरी पुलदेखि मकवानपुरगढी – ५ मा पर्ने गुम्बाडाँडासम्म ७ किलोमिटर ८ सय मिटर साइक्लिङ गरिएको थियो । उक्त प्रतियोगितामा लक्ष्मी महर्जनसहित १२ जना राष्ट्रिय खेलाडीहरु र हेटौंडाकी कविता दास समेतले सहभागी जनाएकी थिइन्, ।
विजयीहरुलाई भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा जेसीसका पुर्व अध्यक्ष अरुण कुमार दाहाल,मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ, कार्यक्रम संयोजक लिशेन बस्नेत, कार्यकारिणी उपाध्यक्ष पवन कंसाकार, सागकी साइक्लिङकी गोल्ड मेडलिस्ट खेलाडी लक्ष्मी मगर र सोनी गुरुङ लगायतको अतिथ्यता रहेको थियो ।