अत्याधिक चिसोले हुम्लामा धारामा पानी जम्न थाले

संवाददाता
२४ कार्तिक २०७७, सोमबार १०:५०

हुम्ला \ हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले धारामा पानी जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो हप्तादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्याधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ ।

बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बीओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिनुभयो ।

यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिनुभयो ।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो हप्तातिर सिमकोट सर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ । मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् ।

हिल्सामा बीओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अत्याधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*