मकवानपुरमा छुट्टाछुट्टै कार्यक्रममा १४५ जना नेपाली कांग्रेसमा प्रवेश

हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १६ को ठुलो आकाशधारा र खाती टोलमा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका नेता राधाकृष्ण खातीसहित नेकपा र राप्रपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नव प्रवेशीलाई टीका र खादा लगाएर पार्टीको सदस्यता प्रदान गरेका थिए । हेटौंडा १६ मा निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा १६ सभापति रामकृष्ण कोइरालाको अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व गृहराज्यमन्त्री, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खोक्रो बनाएको आरोप लगाए । कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुर्याए पनि उनीहरुले जनताको भावनाअनुसार काम गर्ननसकेको बताए । कम्युनिष्टहरुले जनतालाई गुलियो कुरा गरेर यतिन्जेलसम्म भुलाए, अब जनता सचेत भइसकेका छन् । पछिल्लो समय कांग्रेसमा फर्केनेको लहर नै चलेको छ । जनताको विश्वासलाई हामी कुठाराघात गर्दैनौं ।
बानियाँले भने- कांग्रेसबाट वडाध्यक्षमा निर्वाचन जिते पछि आकाशधारा पानीसरा क्षेत्रमा पानी, बाटो र बत्ति पुगेको स्मरण गर्दै कांग्रेस सधैं जनताको दुःखसुखको साथी रहेको उनको भनाइ थियो । हटिया हुँदै आकाशधारा हुँदै डम्बरपुरबाट निजगढसम्म पुग्ने बाटो स्तरीकरण गर्न प्रदेशबाट आफुले बजेट हालिदिने पनि उनले प्रतिवद्धता जनाए । वडाका बासिन्दाको आयआर्जन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न पार्टीले सहयोग गर्ने पनि बानियाँले बताए ।
नवप्रवेशीलाई सम्बोधन गर्ने क्रममा बानियाँले उनीहरुको क्षमता र क्रियाशीलताको आधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता जनाए । दुवै कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव सिलवाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा ६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता सोमबहादुर मोक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक गायक गायिका प्रतिमा अर्याल र दिपेन्द्र पुन मगरले सांगितिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाएका थिए ।