रोकियो कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं \ कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ ।
आज आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेका छन् । नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।