हेटौंडामा धुलो दूध उत्पादन उद्योग बन्दै

खबर बाकस \ बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका—१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ ।
सोही वडाको सिसौंघारीमा करिब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणको लागि बागमती प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई निवेदन दर्ता गर्न अहिले सूचना प्रकाशित गरिसकिएको कृषि मन्त्रालयका प्रवक्ता डा शरण पाण्डेले बताए ।
बागमती प्रदेश कृषि मन्त्रालयको तर्फबाट रु ४५ करोड १२ लाखको लागतमा धुलो दूधको उत्पादन उद्योग स्थापना गर्न प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको उनले जानकारी दिए । हेटौंडामा स्थापित हुने धुलो दूध उत्पादन उद्योगले आगामी आर्थिक वर्ष २०७८/७९ को आर्थिक वर्षभित्र दैनिक करिब ५ मेट्रिक टन धुलो दूधको उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।
प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी पाँच हजार ६ सय ५३ जना कृषकबाट दैनिक ६० हजार ५ सय लिटर दूध संकलन गरी उद्योगले खरिद गर्ने कृषि मन्त्रालयका प्रवक्ता डा पाण्डेले उल्लेख गरे । धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि प्रत्यक्ष–अप्रत्यक्ष गरी करिब ८० जना सर्वसाधारणहरुले रोजगारी प्राप्त गरिनेछ ।
उद्योगले उत्पादन गर्ने दूधको प्याकिङ गरिएको दैनिक पाँच मेट्रिक टन धुलो दूध लाई सातवटै प्रदेशको स्थानीय बजार, होटलहरु र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट वितरण गर्ने कार्य तालिकासहित यातायातको सुविधा उपलब्ध गराइने भएको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिएका छन्, ।