पत्रकार महासंघ यूकेको साधारणसभा नोभेम्बर अन्तिम साता
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको साधारणसभा आउंदो नोभेम्बर अन्तिम साता गरिने भएको छ । बुधबार साँझ सम्पन्न कार्य समिति भर्चुअल बैठकले नोभेम्बर २९ तारिख आइतबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा महासचिव र कोषाध्यक्षबाट प्रस्तुत हुने वार्षिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिनेछ । साथै, यसअघि सदस्यता शुद्धीकरणका लागि सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले बुझाएको सुझाव प्रतिवेदन पनि साधारणसभामा प्रस्तुत गरिनेछ ।
साधारणसभा तयारीको संयोजन गर्ने जिम्मा उपाध्यक्ष विमला सेनेलाई दिइएको छ । एफएनजे यूकेले प्रदान गर्ने घोषणा गरेको पत्रकारिता पुरस्कारको कार्यविधिसम्बन्धी प्रस्ताव तयार गरी साधारणसभामा पेश गर्ने जिम्मा सचिव जगन कार्कीलाई लगाइएको छ । बैठकले नेप्लिज डक्टर्स एशोसिएसन यूके, नेप्लिज नर्सिङ एशोसिएसन यूके र एनआरएनए यूकेसँगको सहकार्यमा ‘स्वास्थ्य संवाद’ सचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
नोभेम्बर पहिलो सातादेखि तीन महिनासम्म साप्ताहिक रुपमा संचालन हुने कार्यक्रमको संयोजन गर्ने जिम्मा संस्थाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याललाई दिइएको छ । अर्याल संयोजक रहेको समितिको सल्लाहकारमा एफएनजे यूके सल्लाहकार भगिरथ योगीलाई राखिएको छ भने सदस्यमा उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत तथा सचिवद्व्य शिव भन्डारी र जगन कार्की छन् ।
बैठकले महामारीको बेला समुदायको लागि आवश्यक पर्ने अन्य पेशागत तथा व्यवसायिक परामर्श उपलब्ध गराउन छुट्टै ‘ट्रेनिङ कार्यक्रम’ समेत गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको संयोजक वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई तोकिएको छ ।अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा बसेको बैठक महासचिव सञ्जयभक्त कंडेलले संचालन गरेका थिए ।