आज महानवमी पर्व, सिद्धिदात्रीको पूजा गरि मनाईदै

या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।
अर्थात्ः
सिद्धिदात्री देवीका रुपमा सवत्र विराजमान अम्बे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।
आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा गरि मनाईदै छ । आजकै दिन धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् ।
आज निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुने गर्दछ।तर यसवर्ष भने कोरोना त्रासले दशैंको रौनकमा धेरै कमी ल्याइदिएको छ|
यसैगरि उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाण्डौ बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिने चलन छ जुन यसवर्ष भिँडभाँड भन्दा बाहिर अनि सामाजिक दुरि कायम गरेर गरिने बताइएको छ । आजको दिन काठमाण्डौको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र सर्वसाधारणका लागि खुल्ला रहने चलन छ यद्धपी कोरोना त्रासले घुँईचो र भेलाहरुलाई बन्देज गरिएको छ ।
खबर बाकस परिवारको तर्फबाट महानवमी पर्वको सबैलाई शुभकामना, माता दुर्गाले हामी सबैको रक्षा गरुन।