बेलायतमा स्वरसम्राट स्व. नारायण गोपालको सम्झना

खबर बाकस/ बेलायतको एबरडिन (स्कटल्याण्ड) मा स्वर सम्राट स्व. नारायण गोपालको ३२ औं पुण्य तिथिको अवसर पारेर ‘नारायण गोपाल स्मृति साँझ २०७९” को आयोजना गरिएको छ । नेप्लिज हिमालयन एशोसियसन स्कटल्याण्डले आयोजना गरेको सो कार्यक्रममा स्थानीय नेपालीहरुले नारायण गोपालका करिब २० वटा गीत गाएर उहाँप्रति श्रद्धासुमन अर्पण गरे । स्व. नारायण गोपालको ५१ वर्षको उमेरमा २०४७ साल मंसिर १९ गते निधन भएको थियो ।
नेपाली समुदायको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको शुरूवात लक्ष्मणराज लोहनीको रचना र चन्द्रराज शर्माको संगीतमा नारायण गोपालले गाउनु भएको राष्ट्रिय गीत ‘म मरेपनि मलाई मेरो देशको माया छ’ बोलको गीत गाएर गरिएको थियो । कार्यक्रममा नारायण गोपालको स्वरमा रहेका गीतहरु ‘आँखा छोपी नरोऊ भनी’ (डा. शिव तिवारी), यति धेरै माया दिई (डा. निर्मल अर्याल), झरेको पात झै (तोया सापकोटा), मोहनी लाग्ला है (लव सिंखडा र राज्यलक्ष्मी राणा), अल्झेछ क्यारे पछ्यौरी (टक थापा), केही मीठो बात गर (सीमा दर्नाल), एउटा मान्छेको मायाले कति (अमीत न्यौपाने), मेरो आँखालाई राख्ने (कामु ढकाल), कसरी म भुलें (डा. मुकुल दाहाल), म त लालीगुराँस भएछु (डा. नारायण श्रेष्ठ), वीरताको चिनो (गणेश घले), मलाई नसोध कहाँ दुख्छ घाउ (अश्विनी धौबडेल), सिरीमा सिरी (कमला घिमिरे र गणेश घले), ए कान्छा ठट्टैमा (शर्मिला अधिकारी र टक थापा), यति चोखो यति मीठो (सागर सिटौला) लगायतका गीतहरु गाइएको थियो । कार्यक्रममा विगतमा लामो समय एबरडिनमा बसी हाल ईंग्ल्याण्डमा कार्यरत डा. प्रमोद रेग्मीले हिमाल सरी म का साथै तिम्रो जस्तो मुटु र डा. सोहन घिमिरे दुईटा फुल देउरालीमा बोलको गीत गाएर अनलाइन मार्फत सहभागिता जनाएका थिए । संचारकर्मी डा. शिव तिवारी र डा. निर्मल अर्यालको परिकल्पना तथा संयोजनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
नेप्लिज हिमालयन एशोसियसन स्कटल्याण्ड (NHAS) का अध्यक्ष नवीन क्षेत्रीले विदेशी भूमिमा रहेर पनि नेपाली श्रष्टाहरुमा समर्पित कार्यक्रम गर्नु नै ठुलो कुरा भएको भन्दै कार्यक्रम निकै सफल रहेको र यसले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्न हौसला मिलेको बताउनुभयो ।
एबर्डिनमा सन २००७ मा स्थापित यस संस्थाले बिभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आएको छ। कोभिडको यो विषम परिस्थितिमा पनि बिभिन्न संघसंस्थाहरुसंगको समन्वयनमा बेलायतमा नेपाली तथा अन्य समुदायलाई झण्डै ४५ हजार पाउण्ड बराबरको सहयोग गरेको थियो भने राष्ट्रीय अनुसन्धान केन्द्र, रबी लामिछाने फ़ाउण्डेशन लगायतका संघसंस्थालाई सहयोग रकम नेपाल पठाएको थियो। त्यस्तै NRNA स्कटल्यांडसंग सहकार्य गरीरहेको छ। साथै यो संस्थाले नेपाली बालबालिकाहरूलाई लक्षित गरी बिगत झंडै ९ वर्षदेखी निरन्तररूपमा नेपाली भाषाको कक्षा संचालन गर्दै आईरहेको छ भने नियमित साहित्यिक कार्यक्रमहरूको आयोजना समेत गर्ने गर्दछ। एबरडिनमा करिब ३५० को संख्यामा नेपालीहरुको बसोबास रहेको छ ।