कांग्रेसले बागी उम्मेदवारी निष्क्रिय पार्न कात्तिक ४ गतेसम्म समय दिने

काठमाडौं : राजनीतिक दलहरूका लागि विद्रोही उम्मेदवार चुनौती बनेका छन्। चुनाव जित्न गठबन्धन गरेका पाँच दललाई स्वतन्त्रसँगै पार्टीकै विद्रोही उम्मेदवार चुनौती बनेका हुन्।
आफ्ना पार्टीका बागी उम्मेदवारलाई कारबाहीसमेत गरेका दलहरूले उम्मेदवारी निष्क्रिय पार्न कारबाही फुकुवाको ‘अफर’ समेत दिएका छन्।
असोज ३० सम्म उम्मेदवारी निष्क्रिय बनाउन अफर दिएको सत्तारुढ दल नेपाली कांग्रेसले अफरको मिति कात्तिक ४ गतेसम्म लम्ब्याएको छ। माओवादी केन्द्रले पनि विद्रोही उम्मेदवारले उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा गर्ने अफर दिएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गरी कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरूविरुद्धको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही फुकुवा गर्ने जनाएका हुन्।
यसअघि मनोनयन फिर्ताको समयमा उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई कारबाही गरेको कांग्रेसले उम्मेदवारी फिर्ता लिन उनीहरूलाई फेरि समय थपिदिएको हो।
आगामी कात्तिक ४ गतेभित्र पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहितको वक्तव्य सार्वजनिक गरे कारबाही फुकुवा गर्ने ‘अफर’ कांग्रेसले आफ्ना विद्रोही उम्मेदवारहरूलाई दिएको छ।
पार्टी सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ कात्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’ उल्लेख छ।
माओवादीले पनि उम्मेदवारी निष्क्रिय पारेको र आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य सार्वजनिक गर्न समय दिएको छ। प्रतिपक्षी दल नेकपा एमालेले भने विद्रोही उम्मेदवारलाई कारबाही फुकुवाको अफर अहिलेसम्म सार्वजनिक गरेको छैन।