आचार संहिता उलंगन गरे निर्वाचन आयोगले उम्मेदवारी नै रद्द गर्ने

संवाददाता
१ कार्तिक २०७९, मंगलवार ००:०१

काठमाडौं / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी प्राप्त भएको जनाएको छ। चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा आयोगमा आचारसंहिता उल्लंघनको चाङ लागेको छ।

उल्लंघनकर्तालाई स्पष्टीकरण सोधेर झारा टार्ने काम गरेको भन्दै आलोचना हुन थालेपछि आयोगले उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएको छ। तर उम्मेदवारहरू ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै गरिरहेका छन्।

आचारसंहिता उल्लंघन गर्नेको संख्या बढेपछि आयोगले स्पष्टीकरण माग्न धेरै कागज खर्चिनुपर्ने देखिएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि आचारसंहिता तोडेको भन्दै आयोगले मनोनयन गरेकै दिनदेखि स्पष्टीकरण सोध्न शुरु गरेको हो।

आचारसंहिताविपरीत बाजागाजासहित मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण मागेको आयोगले आज पनि उम्मेदवारदेखि प्रधानाध्यापक, विश्वविद्यालयसम्मलाई स्पष्टीकरण सोधेको छ।

आचारसंहिताविपरीत करार सेवामा पदपूर्ति गरेको भन्दै आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गरेको भन्दै पर्वतको श्री बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीसँग पनि आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र १ का उम्मेदवार पुकार बमसँग पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ। नयाँ बानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्ने क्रममा उनी र उनको साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टि-शर्ट लगाएको सामाजिक सञ्जालमार्फत उजुरी आएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

नामअंकित टि-शर्टलगायत लगाउन रोक

निर्वाचन आचारसंहिता, २०७९ मा जुलुस, आमसभा, कोणसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि-शर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था छ।

काठमाडौं क्षेत्र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार शिशिर खनालले आफू लड्ने चुनाव चिह्नको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको बारे पनि आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ।

घन्टी निर्वाचन चिह्न राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेकाले प्रचलित निर्वाचन कानूनको उल्लङ्घन भएको पाएको आयोगको ठहर छ।

ब्यानर हटाउन निर्देशन

आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ।

देशभरका प्रमुख जिल्ला अधिकारीसँग सोमबार गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन्। उनले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानरै टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो नगर्न अनुरोध गरे।

उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे। सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको स्वीकार नगरे जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोहीअनुरुप काम गर्न पनि आग्रह गरे।

भोजभतेर गर्न बन्देज

उनले कुनै पनि बहानामा भोजभतेर गर्न नपाइने बताए। उनले खेलकुद, पुरस्कार वितरणलगायत कार्यक्रममा राजनीतिक आबद्धता देखाउनु नहुने पनि उल्लेख गरे। उनले भने‚ ‘तुल, ब्यानर लगायतको व्यापक दुरुपयोग भइरहेको छ। आचारसंहिता उल्लंघन भइरहेको छ। सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिने‚ नहटाए त्यो हटाउन लगाउने र हटाउन लागेको खर्च सम्बन्धित उम्मेदवारबाट भराउने भन्ने पनि आचारसंहितामा उल्लेख छ। कसैले जिम्मा लिएन, मैले गरेकै होइन भन्यो भने पनि अस्ति आयोगले के निर्णय गरेको छ भने जुन उम्मेदवारको निर्वाचन चिह्न प्रयोग भएको छ‚ त्यही उम्मेदवारले त्यो टाँसेको हो भन्ने मानेर हटाउन लगाउने र कारबाही गर्ने।’

कर्माचारीले मत जाहेर गर्न निषेध

सचिव दुवाडीले कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सरकारी कर्मचारीले मत जाहेर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिए सो काम रोक्न लगाउनुपर्ने बताए। उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभए प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताए।

उनले प्रमुख जिल्ला अधिकारीलाई अफ्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि अनुरोध गरे। उनले भने‚ ‘कुनै पनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको छ। प्रमुख जिल्ला अधिकारीहरुलाई म के आग्रह गर्न चाहन्छु भने त्यसरी कारबाही गर्न अफ्ठ्यारो पर्ने भयो भने आयोगमा तुरुन्तै सञ्चार सम्पर्क गर्ने‚ आयोगले त्यसलाई कारबाही गर्नेछ।’- थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*