एनआरएनए स्कटल्याण्डको आयोजनामा प्रदेश १ का कानुन मन्त्री कार्कीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैर-आवासीय नेपाली संघ, बेलायत स्कटल्यान्ड राज्य समितिको आयोजनामा हाल बेलायत भ्रमणमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीलाई स्वागत तथा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नमस्ते सिमला प्यालेस् रेष्टुरेन्ट, काउदेनविथ्, स्कटल्यान्डमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताए।
सो कार्यक्रममा एनआरएनए बेलायतक़ा उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर-आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने कुरामा जोड दिएका थिए।
साथै स्कटल्याण्ड राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गरी कार्य गर्नुपर्ने बताए।
एनआरएनए स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए बेलायतकी पुर्वउपाध्यक्ष रोजीना प्रधान राई, हिमालयन सेन्टरका अध्यक्ष टिका लिम्बु, नेपाल स्कटल्याण्ड एसोसीयसनका अध्यक्ष बिजय डंगोल तथा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू, व्यवसायीहरूको समेत सहभागिता रहेको थियो।
राज्य परिषद्का उपाध्यक्ष्य उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गरेका थिए।