नेपाली कांग्रेस चितवनद्वारा मेयर तथा उपमेयरका आकांक्षीहरुको मनोनयन दर्ता शुरू

संवाददाता
२७ चैत्र २०७८, आईतवार १४:१४

खबर बाकस/ चितवनको भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौं गएर फर्किए लगतै कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने काम सुरू गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमवार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ ।

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज र भोलि मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगर सचिव कृष्ण बगालेले जानकारी दिए । आइतवार बिहान ११ बजेबाट सुरु हुने मनोनयनको सबै तयारी पूरा भएको सचिव बगालेले बताए ।

उनका अनुसार महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरको लागि दुई हजार रुपैयाँँ तोकिएको छ । मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठवन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो ।

सत्ता गठवन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*