‘चपली हाइट ३’ आजदेखि हलमा

संवाददाता
३० पुष २०७८, शुक्रबार ११:०५

​प्रतीक्षित नेपाली चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा आएको छ। विभिन्न कारणले तीनपटक प्रदर्शन मिति सार्नु परेको चलचित्रले शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन सुरु गरेको हो। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा बनेको चलचित्र अधिकांश हलमा सर्वाधिक शोका साथ प्रदर्शनमा आएको छ। चलचित्रले क्युज सिनेमामा ५०, बिग मुभिजमा ३६, बिएसआरमा ३० र एफ क्युबमा ३३ प्रतिशत शो पाएको छ।

त्यस्तै‚ नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकामा ३६ प्रतिशत शो दिएको छ। जुन हलमा लागेका बाँकी चलचित्रको भन्दा धेरै हो। सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, आमीर गौतम, सुपुष्पा भट्ट, प्रतीकमान श्रेष्ठ, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यसअघि २०७६ चैतमै प्रदर्शन हुने भनिएको चलचित्र कोरोनाका कारण सार्नु परेको थियो। त्यसपछि गत पुस २ लाई प्रदर्शन मिति तोकेको चलचित्र हलिउड चलचित्र स्पाइडर म्यान : नो वे होम र तेलुगु चलचित्र पुष्पा : द राइज पनि सोही मितिमा आउने भएपछि पुस १५ मा सरेको थियो।

पुस १६ लाई पहिले नै अर्को नेपाली चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तोकेकाले चपली हाइट-३ फेरि सरेर पुस ३० मा पुगेको हो। चपली हाइट ३ बाहेक शुक्रबारदेखि नै जापानी एनिमेटेड सुपरहिरो चलचित्र ‘माइ हिरो एकेडेमिया : वर्ल्ड हिरोज मिसन’ पनि प्रदर्शनमा आएको छ। कोही होरिकोशीको कथामा आधारित चलचित्रलाई केन्जी नागासाकीले निर्देशन गरेका हुन्।

यीबाहेक हलमा ‘कठपुतली’, ‘पुष्पा’ र ‘स्पाइडर म्यान’ पनि प्रदर्शन भइरहेका छन्। शुक्रबारदेखि ‘कठपुतली’ तेस्रो हप्तामा प्रवेश गरेको छ भने ‘पुष्पा’ र ‘स्पाइडर म्यान’ पाचौँ हप्तामा प्रवेश गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*