हेटौंडा भेट्रान्स कपको उपाधि एविसी पोखरालाई

खबरबाकस \ हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले आफ्नो पोल्टामा पारेको छ । नागस्वती भेट्रान्स हेटौंडालाई २-१ गोल अन्तरले एविसी पोखरा विजेता भएको हो । खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पु¥याउनुभएको थियो ।
पहिलो हाफमा बराबरी खेलेता पनि खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले एक गोल थपेपछि एविसी भेट्रान्सले उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एविसीका नरेन्द्रजंग गुरुङ हुनुभएको थियो ।
विजेता एविसीले ट्रफि सँगै एक लाख एघार हजार १११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको छ भने उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको छ ।
खेलमा विभिन्न विधामामा खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो । खेलको उत्कृष्ट गोल किपर एविसीका सुर्य शर्मा, कोच एविसीका सुरज गुरुङ, मिड फिल्डर एविसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एविसीका विश्वराज श्रेष्ठ हुनुभएको छ । त्यस्तै, उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित हुदैं ट्रफि र जनही पाँचपाँच हजार नगद सहित पुरस्कृत हुनुभएको छ ।
विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो । पिप्ले युवा क्लबको खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलको कार्यक्रम संयोजक मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।