हेटौंडा भेट्रान्सः वालिङ, एबीसी, बगर भाईखलक र बानेश्वर क्वार्टरफाइनल प्रवेश

खबरबाकस \ हेटौंडा-५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलबाट जित निकाल्दै वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्सले क्वार्टरफाइनल भिडन्त पक्का गरेका हुन् । बुधबारको पहिलो खेलमा वालिङले बुटबल भेट्रान्सलाई २-० ले हराएको हो ।
वालिङको तर्फबाट कैलाश राईले १३ र शंकर केसीले २७ औं मिनेटमा गोल गरेका थिए । यस्तै दोस्रो खेलमा एबीसी पोखराले बगर भाईखलक पोखरा ‘बी’ लाई २-१ गोलले हराएको छ । एबीसीको तर्फबाट हरि खड्काले चौथो मिनेटमा र सञ्जय गुरुङले ३२ औं मिनेटमा गोल गरेका थिए भने बगर भाईखलकको तर्फबाट राजकुमार घिसिङले ३० औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच एबीसीका पूर्णबहादुर गुरुङ भए ।
बुधबार भएको तेस्रो खेलमा आयोजक हेटौंडा भेट्रान्सको रातो टिमलाई टाइब्रेकरमा निराश बनाउँदै बगर भाईखलक पोखरा ‘ए’ विजयी बन्यो । निर्धारित समयमा दुवै टिमको तर्फबाट दुई-दुई गोल भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा हेटौंडाको तर्फबाट बलबहादुर गुरुङले ३५ र ४० औं मिनेटमा गोल गरेका थिए भने बगर भाईखलकको तर्फबाट ३० र ४३ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेका थिए । बगर भाईखलकका बीरबहादुर नै खेलको म्यान अफ द म्याच बने । बुधबार भएको अन्तिम खेलमा हेटौंडा भेट्रान्सलाई ३-१ गोलले हराउँदै बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बानेश्वरको तर्फबाट सुमन शर्मा घिमिरेले ११ र २४ औं मिनेटमा गोल गरेका थिए भने उदय श्रेष्ठले २२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाको तर्फबाट सुरेश बानियाँले ४३ औं मिनेटमा एक गोल फर्काएका थिए । खेलमा बानेश्वरका राजु श्रेष्ठ म्यान अफ द म्याच बने । पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।