सातौं हेटौंडा भेट्रान्स कप सुरु, उद्घाटन खेलमा हेटौंडा भेट्रान्स विजयी

खबरबाकस \ हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता सोमबारबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गरी खेलको सुरुवाती गरिएको थियो ।
पौष ३ गते सम्म जारी रहने प्रतियोगितामा १८ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरु सहितको सहभागिता रहेको कार्यक्रम संयोजक मणिराज गौतमले बताउनुभयो ।
उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सबीच भएको छ । खेलको निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा हेटौंडा भेट्रान्स क्लब (बि) विजयी भएको छ । हेटौंडाले सिमरा भेट्रान्सलाई ट्राइब्रेकरमा ३-२ गोलअन्तरले विजयी भएको हो । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला भएका छन् । त्यस्तै सोमबार चितवन राष्ट्रिय भेट्रान्सले वाइ पाएको छ । हाम्रो वीरगञ्ज क्लब सहभागि नभएपछि चितवनले वाइ पाएको हो ।
सातौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवाराज बज्रचार्यले बताउनुभयो । खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले बताउनुभयो ।
हेटौंडा ५ क्याम्पाचौरमा रहेको खेलमैदानमा भएको प्रतियोगितामा मंगलबार पाँच वटा खेल हुने जनाइएको छ । मंगलबार पहिलो खेल सानो गौचरण नाइट किंग र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुन्छ भने एविसी पोखरा र कालभैरव क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ ।
त्यस्तै नागस्वती भेट्रान्स हेटौंडा र वीरगञ्ज युथ क्लबबीच हुने छ भने बौद्ध भेट्रान्स काठमाडौं र बानेश्वर फुटबल क्लब काठमाडौंबीच हुनेछ । त्यस्तै, अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच पनि मंगलबारनै खेल हुने जनाइएको छ ।