नेतृ सुचीलाई ४ वर्ष जेल

काठमाडौं \ म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । सुचीलाई सैनिक सरकारले सेनाविरुद्ध मानिसलाई भडकाउने गतिविधि गरेको र कारोनाको नियम उल्लंघन गरेको आरोपमा म्यानमारको एक अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो ।
७६ वर्षीया सुचीमाथि भ्रष्टाचार लगायत अन्य ११ वटा आरोप पनि लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै आउनुभएको छ ।
म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुचीको पार्टी नेसनल डेमोक्रेटिक लिगले जित हासिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै गत फेब्रुअरीमा म्यान्मारको सत्ता हातमा लिएको थियो ।
सेनाले गरेको कु को विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना भन्दा बढी नागरिकको ज्यान गइसकेको छ । सेनाले सत्ता हातमा लिएपछि सुचीलाई घरमै नजरबन्द गरिएको छ ।