गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको नयां कार्यालयको भव्य उद्घाटन

शिब भण्डारी
लण्डन । एक भव्य समारोहका बीच संघका प्रमुख संरक्षक शेष घलेले उद्घाटन गरेका छन्।
आइतबार कार्यक्रमका प्रमुख अतिथि शेष घले तथा विशेष अतिथि नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल लगायतका अतिथिलाई कार्यक्रमको शुरुमा गुल्मेली प्रथम नौ-मति बाजा बजाएर अतिथि तथा सहभागीहरुलाई स्वागत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक घलेले गैर आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लग्नु पर्ने सुझाव दिए। उनले भने, ” अमेरिका, युके, अस्ट्रेलिया र जापान संघका चार ओटा पिलरहरु हुन्। यो एउटा संस्था होइन, एउटा संजाल हो। यसमा आइसीसीले एनसीसीहरुसंग समझदारी पत्रमा हस्ता क्षर गर्नु पर्छ र त्यस्तो समझदारी पत्र फरक फरक पनि हुन सक्छ।“ उनले आफ्नो कार्यकालमा तयार पारिएको भिजन २०२० एण्ड बियोंड भन्ने दस्ताबेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख पनि व्यक्त गरे।
त्यस्तै सो समारोहमा भाग लिन अमेरिकाबाट आएका एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशब पौडेलले अहिलेको नेत्रित्वको असक्षमताले गर्दा चुनाव अनिश्चित बन्न पुगेको बताए । उनले अहिले एमआइएस प्रणाली संस्था कब्जा गर्ने उद्देश्यले कार्यान्वायन गरिएको आरोप पनि लगाए। सन् २०२१-२३ कार्यकालका लागि ‘टिम कुल’ बाट महासचिव पदका उम्मेदवार डा पौडेलले एनसीसीहरुलाइ स्वतन्त्र र स्वायत्त बनाउनु पर्ने मा जोड दिए।
संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघलाई संकुचित घेरा भित्र राख्न खोजिएको आरोप लगाए। उनले पर्वत जिल्लामा एक सामान्य किसन परिवारमा जन्मिएर एनआरएन अभियानमा निरन्तर योगदान दिइ रहेका कुल आचार्यलाई आगामी चुनावमा अध्यक्ष पदमा जिताउन आह्वान पनि गरे।
कार्यक्रममा नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल, एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, उपाध्यक्ष नारायण कंडेल, संघको केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन, कोषाध्यक्ष पदका उम्मेदवार राजन त्रिपाठी, सह कोषाध्यक्ष पदका उम्मेदवार ललित न्यौपाने, युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोष भट्टराई, युरोप क्षेत्रीय उप संयोजक पदका उम्मेदवार दयानिधि सापकोटा,एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनार,एनआरएनए यूकेपूर्व महासचिव राजकुमार त्रिपाठी, तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ ,जन सम्पर्क समिति युकेका सभापति युबराज गुरुङ,तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ,पत्रकार भगीरथ योगी लगायतका वक्ताले आफ्नो मन्तव्य तथा शुभ कामना व्यक्त गरेका थिए।
कार्यक्रमका सभापति तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालयको उद्घाटन पछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।
‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि घलेले केक काटेर खुसियाली मनाएका थिए।उक्त कार्यक्रमको संचालन प्रवक्ता भरतमणी चोङबाङ,महासचिव खुसि लिम्बु र उपाध्यक्ष गोबिन्द खरेलले सञ्चालन गरेका थिए ।कार्यक्रममा सुभकामना मन्तव्य उपाध्यक्ष मोहन कार्कीले राखेका थिए भने उपस्थित सबैलाइ धन्यवाद उपाध्यक्ष नारायण कंडेलले गरेका थिए।
कार्यक्रममा हाल अस्वस्थ्य रहेकी पूर्व एनआरएन आइसिसी सदस्य शान्ति थापा कुँवरलाई सम्पूर्ण नेपालीको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रमका प्रमुख अतिथि डा शेष घलेको बाहुलीबाट पुष्पगुच्छा र दोसल्लासहित सम्मान गरेका थिए ।