गणेश थापासँग गर्यो हेटौंडा उपमहानगरले फुटबल एकेडेमीका लागि २५ लाखको सम्झौंता

खबरबाकस \ अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष हुँदा पदको दुरुपयोेग तथा आर्थिक अनियमितताको आरोपमा दोषी ठह¥याउँदै विश्व फुटबल महासंघ (फिफा) ले प्रतिवन्ध लगाएको गणेश थापासँग हेटौंडा उपमहानगरपालिकाले फुटबलको विकासका लागि भन्दै २५ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । गणेश थापा सम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग मंगलबार हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेको हो ।
मंगलबार उपमहानगरपालिकाले थापाको स्पोर्टस् अर्गनाइजेसनसँग फुटबलको विकाससम्बन्धी कार्यको लागि सम्झौता गरेको छ । सम्झौता पश्चात उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइ र थापाले तस्विर खिचाई बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत मकवानपुर जिल्लामा फुटबल एकेडेमी सञ्चालन गर्नको निमित्त हेटौंडा उपमहानगरपालिका र नेपाल स्पोर्टस् अर्गनाइजेसन बीच सम्झौता भएको थापाले जानकारी गराएका छन् ।
तर, आर्थिक अनियमितताको आरोपमा फिफाबाट प्रतिबन्धित थापासँग स्थानीय सरकारले स्पोर्टस एकेडेमी सञ्चालनको लागि सम्झौता गरेको भन्दै उपमहानगरको यस कार्यप्रति सामाजिक सञ्जालहरुमा प्रश्न उठेको छ । गणेश थापाले ल्याएको प्रस्तावमा नगरकार्यपालिकाको बैठकमा सामान्य छलफल भएता पनि पछि जिल्ला फुटबल र नगर फुटबल कार्यसमिति बीच छलफल भएको थियो तर कार्यपालिकामा भने पास नभएको एक कार्यपालिका सदस्यले खबरबाकसलाई बताए ।
बोलपत्र आव्हान मार्फत टेण्डर प्रक्रियाबाट गएर टुङ्ग्याउने भनीएता पनि यस विषयमा कार्यपालिका बैठकमा छलफल नभएको अर्का कार्यपालिका सदस्यले बताएका छन् ।
प्रस्तावलाई बैठकमा लगि बैठकबाट पास गरिनुपर्ने प्रक्रिया हो तर यहाँ विना टेण्डर नै आर्थिक अनियमितताको आरोपमा दोषी ठह¥याउँदै आएका मकवानपुरका गणेश थापाबीच सम्झौता गरिनुले उपमहानगरको यस कार्यप्रति प्रश्न चिह्न खडा भएको उनले बताए ।
उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले आफूले यस विषयमा अहिले तत्काल केही भन्न नसक्ने बताए। उनले ‘हिजो सम्झौता भएको हो । सम्झौता के कसरी किन यसको बारेमा म धेरै भन्न सक्दिनँ, आज मेयर साब आउनु भएको छैन भन्दै भोलि आएपछि मात्रै यसको विषयमा बोल्ने बताएका छन् ।