ब्रिटिश सरकारसंग २०२१ भित्रै वार्ता गर्ने सहमति, भूतपूर्व गोर्खाहरुको आमरण अनसन अन्त्य

बेलायत ( जीएनएन ) / ब्रिटिश सरकारले सन् २०२१ भित्रै वार्ता गर्न सहमति जनाए पछि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले आमरण अनसन अन्त्य गरेका छन्। गएको १३ दिन देखि ब्रिटिश प्रधान मंत्री कार्यालय नजिकै समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले लन्डनमा जारी आमरण अनसन बिहीबार अन्त्य गरेका छन् ।
भूतपूर्व सैनिक मामिला हेर्ने ब्रिटिश राज्य मंत्री लियो डोकर्टी तथा बेलायतका लागि नेपाली राजदूत, लोक दर्शन रेग्मी, ले तीन जना गोर्खा अभियन्ताहरु, ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेलाई जुस पिलाएर अनशन तोडाएका थिए। यस अघि मंत्री डोकर्टीले एक पत्र लेख्दै ब्रिटिश सरकार भूतपूर्व गोर्खा सैनिकहरुका माग बारे छलफल गर्न नेपाल सरकार, ब्रिटिश सरकार तथा गोर्खा प्रतिनिधिहरु सम्मिलित समिति गठन गर्न सहमत भएको जनाएका थिए।
सन् १९९७ भन्दा पहिले सेवा निवृत्त भएका गोर्खा सैनिकहरुलाई समान पेन्सनको माग गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिसंग आवद्ध तीन जना अभियन्ताहरुले गत अगस्ट ७ तारिखदेखि आमरण अनशन शुरु गरेका थिए । उनीहरुको आन्दोलनमा बेलायतस्थित नेपाली संघसंस्था र ब्रिटिश सांसदहरुले पनि समर्थन जनाएका थिए।