एनआरएनए स्कटल्याण्डको प्रमुख संरक्षकमा भोला खनाल मनोनीत, मतदाताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

बेलायत / स्कटल्यांड/ जीएनएन — गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिसदको पहिलो बैठक तथा भेटघाट कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
स्कटल्याण्ड राज्य परिसदको पहिलो बैठकले बिधान अनुरुप ३ जना सदस्यहरु पनि मनोनित गरेको राज्य परिषदका नव निर्वाचित उपाध्यक्ष उज्वल कार्कीले बताए । काउडेन बीच स्थित नमस्ते सिमला प्यालेसमा आयोजित कार्यक्रममा सम्पूर्ण मतदातालाई धन्यवाद पनि प्रदान गरिएको थियो । स्कटल्याण्ड राज्य परिषदका नवनिर्वाचित अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले ३ जना सदस्यहरु समावेशी रुपमा मनोनीत गरेको छ । ग्लास्गोबाट महिला प्रतिनिधित्व हुनेगरि मुना खरेल , एडिनबराबाट गोकर्ण भुसाल र एबर्डीनबाट घनश्याम भण्डारीलाई मनोनित गरेको छ । बैठकले स्कटल्याण्ड निवासी बेलायती समाजका समाजसेवी तथा एनआरएन अभियानका अगुवा भोला खनाललाई प्रमुख संरक्षकमा मनोनीत गरेको छ ।
खनाल गैर आवासीय नेपाली संघमा लामो समय देखि योगदान गरेका व्यक्ति हुन् भने उनले संघको सल्लाहकारको रुपमा निरन्तर योगदान गरेका छन् । खनाल हालै सम्पन्न निर्वाचन समितिका सल्लाहकार पनि थिए। कार्यक्रममा बोल्दै खनालले स्कटल्याण्डले एनआरएनलाई एउटा उदाहरणिय बनाउन त्यहाँ रहेका सबै सामाजिक संघ संस्थाको छाता संस्थाको रुपमा बिकसित गरेर अर्को पटक देखि सर्वसम्मत नेतृत्व चयन प्रक्रियाको पहल गर्न सबैलाई अनुरोध गरे ।
आफ्नो धारणा राख्दै संघका नवनिर्वाचित उपाध्यक्ष उज्वल कार्कीले स्कटल्याण्डका नेपाली समुदायका समस्याहरुलाई लिएर लण्डन स्थित नेपाली दुतावासमा डेलीगेसन जाने र दुतावासको ध्यान आकर्षण गर्ने साथैस्कटल्याण्ड निवासी नेपालीहरुको जनगणना गर्ने र यथार्थ संख्या निकाल्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।
बैठकसंगै संस्थाका अगुवाहरुलाई सम्मानको कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा मतदाता र समाजका अग्रजहरुको सम्मान र स्वागतमा पन्चे बाजा, नाचगान सहितको कार्यक्रम पनि राखिएको थियो ।कार्यक्रम एनआरएनए स्कटल्याण्डका सचिब मनिष खत्री र सह-सचिब यशोदा सुमि भण्डारीले संचालन गरेका थिए ।