बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन \ बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो ।
गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरु पछि छैटौं स्थानमा पर्दछ ।
यसैगरी, पछिल्लो २४ घन्टामा थप २९ हजार ३१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ५९ लाख ५२ हजार ७५६ पुगेको छ । संक्रमित संख्या अघिल्लो दिनको तुलनामा झन्डै ८ हजारले बढेको हो ।