एनआरएनए युकेको मतदान सकियो, तत्काल नतिजा घोषणा गर्न माग

संवाददाता
१९ श्रावण २०७८, मंगलवार १८:१०

बेलायत / जीएनएन- एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न सोमबार शुरु भएको मतदान मंगलबार दिउसो १२ बजे सकिएको छ।

मतदान विना कुनै प्राविधिक कठिनाइ सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कडेलले जनाए।

उनले केहि मतदाताहरुले इमेल नपाएको गुनासो गरेको र आफुहरुले सकभर ती गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेको बताए।

“कुनै मतदाताको इमेल एक्टिभ नभएको हुन सक्छ, इमेल जंक मेलमा गएर बसेको पनि हुन सक्छ, त्यसले गर्दा पनि गुनासो आएको जस्तो लाग्यो,” उनले भने।

अनलाइन माध्यम बाट गरिएको चुनावको नतिजा बिहीबार मात्रै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

तर उम्मेदवारहरुले चुनावको नतिजा तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

अध्यक्ष पदका एक उम्मेदवार, प्रेम गाहा मगर, ले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी मतदानको नतिजा जति सक्दो चाडो प्रकाशित गर्न माग गरेका छन्।

आफ्नो वक्तव्यमा गाहा मगरले भने, “मतपरिणामलाई चुनौती दिई उल्ट्याउने दुष्प्रयास भएमा त्यसको नतिजा अकल्पनीय हुन्छ । त्यसप्रति निर्वाचन समिति सचेत रहनु पर्दछ।“

उनले सबै मतदातालाई हार्दिक धन्यवाद दिएका छन्।

अध्यक्ष पदका उम्मेदवार रोजिना प्रधान राई तथा दीपक श्रेष्ठले पनि सबै मतदाताहरुलाई धन्यवाद दिएका छन्।

एनआरएनए युकेमा यस पटक ११,००० बढी सदस्यहरुलाई मताधिकार प्राप्त थियो। तर अहिलेसम्म कति प्रतिशत मत खस्यो भन्ने बारे समितिले केहि जनाएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*