को हुन् एनआरएनए युकेको उपाध्यक्ष पदका उम्मेदवार नारायण कंडेल ?

संवाददाता
१८ श्रावण २०७८, सोमबार १६:२७

– नारायण गाउँले

 नारायण कंडेल एनआरएनए युकेको चुनाबमा नर्दन आयरल्याण्डबाट उपाध्यक्षमा उम्मेदवार छन्।

लण्डन वरपर सीमित रहेको एनआरएनए पक्कै पनि कुनै दिन वेल्सदेखि स्कटल्याण्डसम्म पुग्थ्यो नै तर यी मान्छे हदैसम्म नलडेको भए क्षेत्रीय कमिटी त बन्थे तर तीन वटै क्षेत्रले उपाध्यक्ष सहित केन्द्रमा ससम्मान प्रतिनिधित्व गर्न पाउने थिएनन् ।

म लगायतको तत्कालीन कार्यसमिति थोरै जनसङ्ख्या भएका तीन वटा राज्य समितिलाई उपाध्यक्ष दिन सकिन्न भन्नेमा थियो, वार्ताको अर्को पक्षमा थिए यिनै नारायण कँडेल ! यिनको अकाट्य तर्क शैली र अद्भुत अडानका अगाडि हाम्रो केही लागेन । आज एनआरएनए युके हरेक कुनासम्म पुग्नुमा यिनको अग्लो योगदान छ।

एनआरएनए युकेमा आर्थिक अपचलनको मुद्दा धेरै अगाडिदेखि उठ्दै आएको छ । विभिन्न पत्रपत्रिकाले र एनआरएनए युके स्वयंले बनाएका छानबिन समितिले समेत अपारदर्शी रूपमा आर्थिक कारोबार भएको निष्कर्ष निकालेका छन् । तर यस्ता मुद्दा एक-आपसमा खासखुस गरेर साम्य बनाउने गरिएको छ । तर यिनले यस्तो मुद्दा छिनफान हुनुपर्छ र संस्थाको शाख निर्विवाद र स्वच्छ हुनुपर्छ भनेर हदैसम्म लड़े । संस्थाका प्रायः सबै उपाध्यक्षले यो विषयमा लडेको देखियो । भ्रष्टाचारको आरोप यिनले लगाएका थिएनन् । समाज र मिडियाले लगाएको आरोप थियो त्यो । यिनले आरोप लागिसकेपछि आफ्नै संस्था भए पनि निष्पक्ष छानबिन हुनुपर्छ भन्ने अडान लिएका थिए । तर अमुक अमुक राजनैतिक दल या ग्रुपको आड़मा ती मुद्दाहरू दबाउने प्रयास भएपछि यो इश्यु बेलायतको अदालतसम्म पुग्यो।

अहिले तिनै अमुक अमुकहरूले यो व्यक्ति त सधैँको झगड़िया हो, विद्रोही हो । यस्तालाई हराइदिनुपर्छ भनेर उल्टो खेदो खनेको पो देखियो । जसले एनआरएनए युकेको सम्मानपूर्ण विकेन्द्रीकरण र आर्थिक अनुशासनको पक्षमा सकेसम्म लड्यो, त्यसलाई झगड़िया भनेर हराउने हो भने कस्तो एनआरएनए बनाउने ?

तोकिएको मिति अनुसार चुनाब हिजो सम्पन्न भइसक्नुपर्ने थियो । मैले बड़ो संयमपूर्वक हिजोसम्म कसैका लागि फेसबुकमा भोट मागेको थिइनँ । सबै इष्टमित्र र केही गर्छु भन्नेहरू भएकाले शुभकामना दिएको थिएँ । चुनाब भोलिका लागि सर्यो । अलि छुचै भएर देखेको कुरो लेखियो ।

मलाई व्यक्तिसँग ठूलो चासो र सरोकार होइन । तर संस्थाको शुद्धीकरणको मुद्दा सेलाउनु हुँदैन भन्ने लाग्छ । मुद्दा उठाएर संस्था बद्नाम हुँदैन, मुद्दा भित्रभित्रै दबाएर हो बद्नाम हुने !  तपाईंको के विचार छ ?

 

( यो आलेख गाउँलेको फेसबुक पेजबाट लिइएको हो।  यहाँ व्यक्त विचार लेखकका निजी हुन्।  सं. )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*