रेडिङ निवासी समाजसेवी दाहालले एनसीसी यूकेको कार्य समिति सदस्य पदमा उम्मेदवारी दिने

संवाददाता
२८ असार २०७८, सोमबार ०१:५२

लण्डन । बेलायतमा बसेर बेलायतवासी नेपाली तथा मातृभूमिको सेवामा सक्रिय बालकृष्ण दाहाल गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा होमिएका छन् ।

रेडिङ निवासी दाहालले एनसीसी यूकेको कार्य समिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । एनसीसी यूकेको निर्वाचन यही जुलाई ३१ मा हुँदै छ ।

विगत लामो समयदेखि लण्डनमा बस्दै आएका दाहाल नेपालमा रहँदादेखि नै समाजसेवामा सक्रिय थिए । उनी काठमाडौँ  कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ का स्थायी वासिन्दा हुन् ।

समाजसेवाकै कारण रेडिङ क्षेत्रमा लोकप्रिय बनेका दाहाललाई निर्वाचनमा व्यापक समर्थन प्राप्त हुने देखिएको छ । केही दिनअघि उम्मेदवारी घोषणा गरेका दाहाललाई समर्थन प्राप्त हुने क्रम जारी छ ।

एनआरएनको लक्ष्य, भावना र मर्म अनुसार समाजसेवाको कामलाई निरन्तरता दिने दाहालले बताएका छन् । २००९ देखि बेलायतमा रहेका दाहालले त्यसअघि पनि समाजसेवामा सक्रिय थिए । बेलायत पुगेपछि पनि उनले विभिन्न माध्यमबाट समाजसेवालाई निरन्तरता दिँदै आएका छन् ।

पेन्नी फर नेपालका संस्थापक तथा बोर्ड सदस्य दाहालले नेपालमा कोभिड महामारीबाट पीडित नेपालीहरुको सहयोगार्थ विभिन्न संघ संस्थाको सहयोगमा १२ ओटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएका थिए । कोभिडको पहिलो लहरमा पनि उनले व्यक्तिगत रुपमा आर्थिक समस्या परेर दैनिकी गुजारा गर्न नसक्नेहरुलाई राहत पठाएका थिए भने कागेश्वरी अस्पतालका लागि अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिएका थिए । 

२०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि पनि उनले विभिन्न ठाउँबाट सहयोग संकलन गरी नेपालमा पठाएका थिए । गरिब, रोगी, असहायहरुको सेवामा सक्रिय उनले नेपालमा अपाङ्ग र मिर्गौला रोगीको उपचारको निम्ति वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएका छन्।  उनले नेपालमा हालसालै आफ्नो संस्था र विभिन्न साथ–सहयोगमा चितवनको चेपाङ वस्तीमा विद्यालय भवन निर्माण गरेका छन्।

विदेशमा रहेका दोश्रो पुस्ताका नेपाली र विदेशमा नै जन्मेका बालबालिकाहरुलाई नेपालसँग जोड्न आवश्यक रहेको उनको बुझाइ छ ।

गैरआवासीय नेपाली संघलाई पारदर्शी संस्थाको रुपमा स्थापित गर्दै विदेशमा नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने, दोश्रो पुस्तालाई देशप्रतिको लगाव बढाउने र एनआरएनलाई समग्र नेपालको समृद्धिमा सहभागी गराउन पहल गर्ने एजेण्डासहित आफू चुनावी अभियानमा होमिएको दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*