बीएनओ पासपोर्ट प्राप्त हंगकंग वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरको सुझाव

संवाददाता
१६ असार २०७८, बुधबार ०१:०९

बेलायत / ब्रिटिश न्यास्नल ओभरसिज (बीएनओ) पासपोर्ट भएका हंगकंगका वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरले सुझाव दिएका छन्।

बेलायतस्थित कानुनी परामर्शदाता संस्था,  एभरेस्ट ल सोलिसिटर्सले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लन्डनस्थित वन पम्प कोर्ट च्याम्बर्ससंग आबद्ध व्यारिस्टर किलिन म्याकार्थीले बीएनओ भिसा हंगकंगमा बसोबास गरिरहेका नागरिकहरुका लागि मात्रै भएको र जुलाइ १९९७ भन्दा पहिले बीएनओ पासपोर्ट पाएका व्यक्ति र उनका डिपेन्डेन्टले मात्रै उक्त भिसाका लागि आवेदन गर्न पाउने बताइन्।  उनले हंगकंगमा बसोबास गर्ने झन्डै ७५ लाख मानिसहरु मध्ये बीएनओ राहदानी वाहक र तिनका आश्रित समेत ७० प्रतिशत भन्दा बढी मानिसले यो भिसाका लागि आवेदन गर्न सक्ने पनि जानकारी दिइन्। 

३१ जनवरी २०२१ मा लागू गरिएको नयाँ नियम अनुसार  बीएनओ राहदानी वाहक व्यक्तिले भिसा पाए पछि युकेमा काम गर्न र बस्न पाउँछन्।

त्यस्तै ३६ पब्लिक ग्रुपसंग आबद्ध व्यारिस्टर रफाएल जेसुरमले बीएनओ राहदानी वाहक व्यक्तिले एकै परिवारमा बस्ने आफ्ना बाबु आमा यदि स्वास्थ्य सम्बन्धी कारणले आफु माथि निर्भर छन् भने उनको तर्फबाट पनि संगै निवेदन दिन सक्ने बताए।  तर त्यसका लागि पर्याप्त प्रमाणहरु पेश गर्नु पर्ने हुन्छत्यसैले दक्ष कानून व्यवसायीसंग कानूनी परामर्श लिन पनि उनले सुझाव दिए। 

हंगकंगमा ठूलो संख्यामा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको बसोबास रहेको र उहाँहरुलाई ब्रिटेनमा बसोबास गर्न पाउने कानूनी व्यवस्था बारे सही तथा वास्तविक सूचना एवं जानकारी दिने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं,” एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले भने। उनले आगामी दिनमा पनि समसामयिक विषयमा यस्तै जानकारीमूलक कार्यक्रमहरु आयोजना गर्ने पनि जनाए।  

ब्रिटिश सरकारले हालै ल्याएको नियम अन्तर्गत हंगकंगमा बसोबास गर्ने ब्रिटिश न्यास्नल ओभरसिज (बीएनओ)  पासपोर्ट भएका तथा तिनको परिवारका आश्रित सदस्यहरुलाई भिसा दिन शुरु गरिएको  छ। त्यस्तो भिसा पाएको ५ वर्ष पछि आवासीय भिसाको लागि आवेदन गर्न सकिने र त्यसको १२ महिना पछि ब्रिटिश नागरिकताको लागि निवेदन दिन सकिने पनि नियममा उल्लेख छ।  गत जनवरीमा नयाँ नियम आए पछि ३४,००० भन्दा बढीले आवेदन दिएको र मार्च महिनाको अन्त्य सम्ममा ५,६०० जनाले भिसा पाएको होम अफिसले जनाएको छ। 

पत्रकार भगीरथ योगीले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए भने एभरेस्ट ल सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयद इमरान अलिले सबैलाई धन्यवाद दिए  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*