बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या घट्दै

संवाददाता
२ चैत्र २०७७, सोमबार ०८:२८

लन्डन \ बेलायतमा दैनिक कोरोना मृतकको संख्या अक्टुबर यताकै सबैभन्दा कम भएको छ । पछिल्लो २४ घन्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ५१६ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ५८ हजार ४३८ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार २९ जनामा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

दुई करोड ५७ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ५७ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । आइतबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ५७ लाख ८१ हजार १२० पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४१ लाख ९६ हजार २११ जनाले पहिलो डोज लिएका छन् भने १५ लाख ८४ हजार ९०९ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*