भारतको उत्तराखण्डका मुख्यमन्त्रीद्वारा राजीनामा

संवाददाता
२६ फाल्गुन २०७७, बुधबार ०७:१९

काठमाण्डाै \ भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाउनुभएको हो ।

राजीनामा बुझाएपछि उहाँले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार  सांसदहरूको बैठक बोलाउनुभएको छ ।

भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बन्नुभएका रावत केही दिनदेखि राजीनामाको दबाब बढ्दै गएको थियो । सन् २००० मा गठन भएको उत्तराखण्ड राज्यमा अहिलेसम्म आठ जना मुख्यमन्त्री बनिसकेका छन् । ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६, कांग्रेसका ११ र दुई जना स्वतन्त्र विधायक छन् । एक सिट खाली छ ।

बहुमत भए पनि पार्टीभित्रको असन्तोषका कारण रावतलाई पदबाट राजीनामा गर्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपाले मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतका कारण उत्तराखण्डका मानिसमा सरकारप्रतिको धारणा नकारात्मक बनेको आरोप लगाएको छ ।

उत्तराखण्ड राज्य बनेदेखि नै राजनीतिक अस्थिरता कायम छ, मात्र नारायण दत्त तिवारी नै एक यस्ता मुख्यमन्त्री हुनुहुन्थ्याे जसले पाँच वर्षकाे आफ्नाे कार्यकाल पूरा गर्नुभयाे ।

वरिष्ठ पत्रकार जयसिंह रावत भन्नुहुन्छ, ‘मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतविरुद्ध पहिहेदेखि नै पार्टीमा निकै असन्ताेष थियाे । रावतका केही निर्णय यस्ता थिए, जसका कारण नागरिक उहाँप्रति निकै निराश थिए, नागरिकमा असन्ताेष बढिरहेकाे थियाे । उदाहरणका लागि– देवस्थानम बोर्ड गठनका कारण भाजपाका मुख्य मतदाता अर्थात् मन्दिरका पूजारी, अन्य पंडा समाज रावतसँग निकै निराश थिए । भाजपाकै सांसद सुब्रमण्यम स्वामीले यस विषयलाई अदालतसम्म पुर्‍याउनुभएकाे थियाे ।’

‘उत्तराखण्डमा मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले गैरसैनमा ग्रीष्मकालीन राजधानी बनाउनुभएकाे थियाे, त्यहाँ विधानसभा सत्र सुरु हुने दिन एक सडक विस्तारकाे माग गर्दै प्रदर्शन गर्न आएका महिलामाथि लाठीचार्ज गर्न लगाएपछि पहाडमा रहेका नागरिकमा गलत सन्देश गएकाे थियाे । यही कारण नागरिक रावतप्रति निकै रुष्ट थिए ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*