नेपाल पत्रकार महासंघ बेलायतको तेस्रो पूर्ण बैठक बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

संवाददाता
५ पुष २०७८, सोमबार १८:०१

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक सन् २०२१ डिसेम्बर १९ तारिख आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

 

बैठकमा विशेष अतिथिका रुपमा सहभागी महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीले सम्बोधन गर्नुभयो । त्यस्तै, अतिथिको रुपमा संस्थापक अध्यक्ष नवीन पोख्रेल एवम् पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगर सहभागी भइ शुभकामना मन्तव्य राख्नुभयो ।

 

बैठकमा कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, मिलन तमु, बम थापा सुर्यवंशी र बाचस्पति रेग्मीसहित कार्यसमितिका अधिकांश पदाधिकारीको उपस्थिति थियो ।

 

बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ 

१ कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको तथा नयाँ भेरियन्टहरुको सन्त्रास फैलिरहेको सन्दर्भमा बेलायतस्थित नेपाली समुदायमा आवश्यक सचेतना, सूचना एवम् जानकारीहरु प्रवाह गर्ने उद्धेश्यले सम्बन्धित विज्ञ एवम्   स्वास्थकर्मीहरुको सहभागितामा पाक्षिक भर्चुअल ‘स्वास्थ्य सचेतना’ कार्यक्रम सञ्चालन गर्ने । नेप्लिज डक्टर्स् एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोसिएसन यूकेसँगको सहकार्यमा सञ्चालन गरिने कार्यक्रमको संयोजन शाखाको तर्फबाट वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारले गर्ने ।

२ बेलायतस्थित नेपाली समुदाय एवम् संघसंस्थाहरुको मिडियामा पहुंच तथा सहभागिता बढाउने र सहज पार्ने  लक्ष्यसहित संघसंस्थाका प्रतिनिधिहरुलाई प्रेस नोट/ प्रेस रिलिज कसरी तयार गर्ने ? मिडियामा कसरी आफ्ना सूचनाहरु पठाउने ? भन्ने जस्ता विषयमा उपयोगी जानकारी गराउने उद्धेश्यले आगामी सन् २०२२ जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल कार्यशाला आयोजना गर्ने । कार्यक्रमको संयोजन महासचिव नरेन्द्र बस्नेतले गर्ने ।

३ संस्थाका सदस्यहरुबाट भएका अनुशासन उल्लंघनका सम्बन्धमा आवश्यक अध्ययन,छानबिन गरी प्रमाण संकलन तथा आवश्यक कदमको सिफारिश गर्न शाखाका संस्थापक अध्यक्ष नवीन पोख्रेलको संयोजकत्वमा पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगर सदस्य रहेको एक अनुशासन छानबिन समिति गठन गर्ने । समितिलाई संस्थाको नाम तथा लोगो दुरुपयोग एवम् अनुशासन उल्लंघनजनक कार्यका साथै प्राप्त उजुरी र गुनासोहरुबारे छानबिन गरी आवश्यक कदम सिफारिश गर्न समेत जिम्मेवारी दिने ।

४ शाखाको आधिकारिक वेबसाइट रिडिजाइन गर्ने। जुन कार्यको समन्वय कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङनामको सहयोगमा अध्यक्ष ध्रुवराज अर्यालले गर्ने ।

५ बैठकमा विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुने महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन  पुरीप्रति आभार प्रकट गर्ने । त्यस्तै, अतिथिको रुपमा संस्थापक अध्यक्ष नवीन पोख्रेल एवम् पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई पनि धन्यवाद ज्ञापन गर्ने ।

 

बैठकले शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईका पिता स्वर्गीय बलबहादुर लिम्बू लावुङ र केन्द्रीय प्रतिनिधि विमला सेनेकी आमा स्वर्गीय दाउमन्ती पयांगु सेनेको दु:खद निधनमा दु:ख व्यक्त गर्दै शाखाको तर्फबाट शोक प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु