बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

संवाददाता
१० मंसिर २०७८, शुक्रबार १५:२७

कोरोना महामारी सुरुवात भएको लगभग दुई वर्ष पुग्नै लाग्दा यस अवधिभरमा बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । पछिल्लो समयमा बेलायतमा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ४७ हजार २४० नयाँ सङ्क्रमित थपिएका छन्, जुन गत अक्टोबरयताकै उच्च हो । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक मिलियनभन्दा बढी अर्थात् एक करोड २१ हजार ४९७ पुगेको छ । कोरोनाकै कारण हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या झन्डै २६ करोड नाघेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा १४७ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४४ हजार ४३३ पुगेको छ । तर, कोरोनाका कारण मृत्यु भएको मृत्यु दर्ताका आधारमा भने मृतक सङ्ख्या झन्डै एक लाख ६८ हजार रहेको छ । विश्वभरमा झन्डै ५२ लाख मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ ।

बेलायतमा अहिले २८.५ प्रतिशतले  कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।  बिहीबारसम्मको तथ्याङ्क अनुसार यहाँ एक करोड ६३ लाख  ८३ हजार ५७५ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घण्टामा  तीन लाख ७८ हजार भन्दा बढीले  बुष्टर डोज लगाएका छन् । यसैगरी  पाँच करोड ८५ लाख दुई हजार १३३  जना अर्थात् ८८.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६२ लाख ३२ हजार २५८ जना अर्थात् ८०.४  प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*